काठमाडौँ, वैशाख २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

“यसका लागि ज्येष्ठ नागरिकले गरेका काम र असल अभ्यासलाई पाठ्यक्रम वा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने व्यवस्था गर्नुपर्छ । साथै शारीरिक रूपमा सक्षम र इच्छुक ज्येष्ठ नागरिकलाई उपयुक्त काममा संलग्न गराई उत्पादनसँग जोड्ने तथा उनीहरूसँग सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक क्रियाकलापमा अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्छ भन्ने म ठान्दछु,” राष्ट्रपति पौडेलले भन्नुभयो । यसतर्फ दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर अघि बढ्न सरकारलगायत सबैलाई उहाँले सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतर्फ उन्मुख भइरहेको उल्लेख गर्नुभयो । “युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै रोजगारी दिन चुनौतीहरू छन् । यस्तो अवस्थामा ज्येष्ठ नागरिकको प्रभावकारी र उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशका अनुभवबाट नेपालले पनि सिक्ने अवसर हुनेछ भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।

ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर खाना, उचित पोशाक र आवश्यक अवस्थामा स्वास्थ्य उपचार सेवा पाउनु उनीहरूको अधिकार भएको उहाँको भनाइ थियो । उनीहरूले आफ्नो उमेर समूहका वा अन्य व्यक्तिसँग सहज रूपमा अन्तरक्रिया गर्न पाउनुपर्ने र सकेसम्म परिवारमै बसेर जीवनयापन गर्न पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी तथा पारिवारिक असहिष्णुता लगायतका कारण जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकले दुःख पाएका समाचारले जोसुकैको मन द्रवित बनाउँछ,” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले सम्मेलन ज्ञान र सीपको अन्तर्पुस्ता हस्तान्तरणका साथै पुस्ताबीचको समन्वयको सेतु बन्न सकोस् भन्ने शुभकामनासहित सम्मेलनको सफलताको कामना गर्नुभयो ।

राष्ट्रपति पौडेलले वामपन्थी राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी सरल र सादगी नेता भएको उल्लेख गर्नुभयो । उहाँले बीपी कोइरालासँगै मनमोहन अधिकारीलगायत नेताले नेपालको मात्र नभई भारतको स्वतन्त्रता सङ्घर्षमा समेत योगदान दिएको स्मरण गर्नुभयो । कांग्रेस र कम्युनिष्टबिच सैद्धान्तिक मतभेद भए पनि निरंकुश पञ्चायत अन्त्य र बहुदलीय प्रजातन्त्र स्थापनाका लागि सहकार्य आवश्यक रहेको विचार राख्ने उदार वामपन्थी नेता मनमोहन अधिकारी भएको उहाँले बताउनुभयो । २०५१ सालमा उहाँकै प्रधानमन्त्रित्वमा वृद्धवृद्धाका लागि पहिलोपटक मासिक वृद्धभत्ता सुरु गरिएको स्मरण गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिक राष्ट्रसेवामा योगदान दिएका र अहिले बढी आधारभूत सुविधाको आवश्यकता भएका समाजका विशिष्ट वर्ग भएको उल्लेख गर्नुभयो ।




