काठमाडौँ, वैशाख २६ गते । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका र प्रणालीलाई कमजोर पार्ने र संवैधानिक प्रक्रियामाथि हस्तक्षेप गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।
कानून दिवसको अवसरमा शनिबा आयोजित समारोहलाई सम्बोधन गर्दै न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताउनुभएको हो । उहाँले कुनै पनि बहानामा न्यायको प्रतिस्थापन गर्ने वा संविधानविपरीत गतिविधिलाई स्वीकार गर्न नहुने भन्दै यस्तो प्रवृत्तिले न्याय प्रणालीको विश्वसनीयता र संवैधानिक स्थायित्वमाथि खतरा उत्पन्न गर्ने बताउनुभयो । उहाँले विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत हुनुपर्ने भन्दै विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिवद्धता आवश्यक भएको धारणा राख्नुभएको थियो ।

संविधानको मर्म विपरीत गरिने कार्यलाई ‘क्रान्ति वा परिवर्तन’ भनेर व्याख्या गर्न नसकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो संविधान उल्लंघन गर्नेहरूलाई जवाफदेही बनाउनु अपरिहार्य छ ।
न्यायिक स्वतन्त्रता र संवैधानिक मर्यादालाई कमजोर बनाउने कुनै पनि प्रयास मान्य नहुने भन्दै उहाँले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गर्दै उहाँले अगाडि भन्नुभयो, न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य हुँदैन ।




