खासकुरा संसाददाता
हेटौँडा, वैशाख २६ गते । चित्लाङ एफसी, काठमाडौँले मकवानपुरको बागमती गाउँपालिकामा भएको आठौँ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । बागमती गाउँपालिका ४ झुरझुरेस्थित सहिद स्मृति रंगशाला खेलमैदानमा शनिबार भएको फाइनलमा सर्लाहीको बागमती युथ क्लबलाई ४–० गोलले हराउँदै चित्लाङले उपाधि हात जितेको हो ।
चित्लाङका लागि एरोन थापाले खेलको दोस्रो मिनेटमा, विदेशी खेलाडी सोलोमन किङले १७ औँ र ४८ औँ मिनेटमा र समीर तामाङले ७७ औं मिनेटमा गोल गर्नुभएको थियो ।

समीर प्लेयर अफ दि म्याच घोषित हुनुभयो । विजेता चित्लाङले १० लाख रुपियाँसहित शिल्ड प्राप्त गरेको छ । उपविजेता टिम बागमती युथले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको विजेता तथा उपविजेता टिम र खेलाडीलाई बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रतियोगिताका संयोजक रहर सिं थिङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
विजेता चित्लाङले प्रतियोगितामा एपीएफलाई हराउँदै क्वाटरफाइनलमा, क्वाटरफाइनलमा मछिन्द्रलाई र सेमिफाइनलमा नवजनजागृति युवा क्लब सिमरालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । उता उपविजेता बागमती युथ क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई हराउँदै क्वाटरफाइनल, क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा फ्रेन्ड्स क्लब काठमाडौंलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

यसैबीच चित्लाङका लक्ष्मण थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक लाख एक हजार रुपियाँ प्राप्त गर्नुभयो । यस्तै उत्कृष्ट गोलरक्षक चित्लाङका प्रिसो, उत्कृष्ट डिफेन्डर बागमतीका आयुष मगर, उत्कृष्ट मिडफिल्डर बागमतीकै अनिष महर्जन, उत्कृष्ट फरवार्ड चित्लाङला एरोन थापा र उत्कृष्ट प्रशिक्षक सुमन श्रेष्ठ घोषित हुनुभयो । विधागत उत्कृष्ट सबैले जनही २५–२५ हजार रुपियाँ प्राप्त गर्नुभयो । बागमती गाउँपालिका मकवानपुरको प्रायोजनमा बागमती खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको हो ।




