मकवानपुर, जेठ २ गते । बागमती प्रदेश सरकारको बेरुजु रकम पाँच अर्ब रुपियाँभन्दा बढी पुगेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट यस प्रदेशको हालसम्म कूल बेरुजु बढ्दै गएको तथ्याङ्क छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको त्रिसट्ठीऔँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ सम्ममा कुल बेरुजु रकम पाँच अर्ब २८ करोड छ लाख ९४ हजार रुपियाँ पुगेको हो ।
तर बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम आव २०८०/०८१ को तुलनामा घटेको छ।

महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्रदेश मन्त्रालय तथा निकायको लेखापरीक्षण अनुसार यस प्रदेशको आव २०८०/०८१ को बेरुजु रकम ८५ करोड १७ लाख ८२ हजार रुपियाँ रहेकामा आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम ६९ करोड ३७ लाख ९४ हजार रुपियाँमा झरेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार आव २०८०/०८१ सम्ममा कुल बेरुजु रकम चार अर्ब ८६ करोड ८९ लाख ६६ हजार रुपियाँ पुगेको थियो । आव २०८१/०८२ मा सम्परीक्षणपछि चार अर्ब ५८ करोड ६९ लाख रुपियाँ कूल बेरुजु रहेकोमा सोही आवमा ६९ करोड ३७ लाख ९४ हजार रुपियाँ थपिएर कूल बेरुजु रकम पाँच अर्ब २८ करोड छ लाख ९४ हजार रुपियाँ पुगेको हो ।

उता आव २०८१/०८२ मा सातै प्रदेशमा सबैभन्दा बढी बेरुजु मधेश प्रदेश ३.७७ हुँदा सबैभन्दा कम बागमती प्रदेशका ०.८३ प्रतिशत रहेको छ । आव २०८०/०८१ मा सबैभन्दा बढी बेरुजु मधेश प्रधेश २.१० हुँदा बागमती प्रदेशको ०.८९ प्रतिशत रहेको थियो । आव २०८०/०८१ मा भन्दा आव २०८१/०८२ मा बेरुजु रकम घटेपनि नियन्त्रणमा आउन सकेको छैन । गत आवमा यस प्रदेशमा कूल खर्च ४६ अर्ब ४० करोड ३३ लाख ११ हजार रुपियाँभएकोमा प्रदेश स्रोतबाट ७७.०६ प्रतिशत अर्थात् ३५ अर्ब ७५ करोड ८७ लाख १८ हजार रुपियाँ खर्चभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आव २०८०/०८१ मा प्रदेश स्रोतबाट ७४.३२ प्रतिशत खर्च भएको तथ्याङ्क छ ।




