मनसनुजन्य विपदबाट दुई लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान

लोकप्रिय

काठमाडौँ, जेठ २ गते । यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ । कार्ययोजनामा भनिएको छ, “यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । समग्रमा यस वर्षको मनसनुको अवधिमा मनसनुजन्य विपद्बाट देशभर करिब ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ ।”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यसमध्ये एक हजारदेखि चार हजार घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो । जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब १० प्रतिशत बराबर हो । प्रदेश तथा स्थानीय तहमा विपद् पूर्वतयारी गर्न सहज होस् भन्ने अभिप्रायले प्रदेशगत विश्लेषण गरी विपद् जोखिम आकलन गरिएको उहाँले बताउनुभयो । कार्ययोजनामा यस वर्ष मनसुन ऋतुको अवधिमा देशैभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भए तापनि सरदर तापक्रम वृद्धि हुनसक्ने आकलनले केही उच्च हिमाली स्थानहरूमा हिमताल विस्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढीजस्ता मनसुनजन्य विपद्को जोखिम अधिक हुने सम्भावना रहेको उल्लेख छ ।

त्यसैगरी, उक्त अवधिमा दैनिक तापक्रममा वृद्धि हुने सम्भावना अधिक रहने आकलनले देशको दक्षिणी तराई भूभागमा सर्वसाधारण अत्यधिक गर्मी वा तातो हावाको लहर (लु)बाट समेत प्रभावित बन्ने सम्भावना रहेको आकलन गरिएको पनि प्रवक्ता महतले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको यसअघि नै आकलन सार्वजनकि गरिसकेको छ । यस मनसुनको अवधिमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ । यस्तै सुदुरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ । त्यसैगरी, कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको उल्लेख छ । सोही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरको विपद् प्रभावितको अवस्था आकलन गरेर कार्ययोजना तयार पारी लागू गरेको हो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles