काठमाडौँ, जेठ ३ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहेको बताउनुभएको छ ।
‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आज यहाँ आयोेजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो ।
“पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएका नेताको ठूलो पङ्क्ति बाहिर छ, १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरु जो हुनुहुन्न मेरो समितिभित्र, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु”, सभापति थापाले भन्नुभयो ।
देशभर रहेका क्रियाशील सदस्यलाई पार्टीको सदस्यता अद्यावधिक गर्नसमेत सभापति थापाले आग्रह गर्नुभयो ।
पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो । कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो ।
समाजका अध्यक्ष कुलचन्द्र वाग्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधानविद् विपीन अधिकारी, कूटनीतिक व्यक्तित्व शम्भुराम सिंंखडा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, समाजका पूर्वअध्यक्ष हरिहर दाहाल, प्रजातन्त्रवादी कानुन व्यवसायी सङ्घका अध्यक्ष सीताराम केसी, शेरबहादुर केसी, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ पत्रकार गोकर्ण अर्याल, डा वासुदेव भण्डारीलगायतले मुलुकको समसामयिक राजनीतिमा नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।



