क्यानडाका सभामुखद्वारा राजीनामा

लोकप्रिय

ओटावा, असोज १० गते । 

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् । 

अन्ठान्नब्बे वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै उनको प्रशंसा गरेपछि सभामुख एन्थोनी रोटाले मङ्गलबार ओटावामा पार्टी नेतालाई भेटेर राजीनामा दिनुभएको हो । सभामुख रोटाको अभिव्यक्तिलाई लिएर स्वदेश र विदेशमा उहाँको कटु आलोचना भएको थियो । गत शुक्रबार भएको यो घटनाको विश्वव्यापी निन्दा भएको थियो ।

यसअघि क्यानडाका नागरिक र राजनीतिक दलका नेताले सभामुख रोटाको राजीनामा मागेका थिए । उहाँले संसदमा सभामुख पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो अभिव्यक्तिप्रति गहिरो पश्चात्ताप भएको बताउनुभएको थियो । उहाँले आफूलाई हुन्काको नाजीसँगको सम्बन्धबारे जानकारी नभएको र कार्यक्रममा उपस्थित हुन आमन्त्रित गरेर गल्ती गरेको बताउनुभयो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार नै सभामुखले हुन्कालाई सदनमा गरेको आमन्त्रण र अभिव्यक्ति दुवै लाजमर्दो भएको टिप्पणी गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles