मकवानपुर, जेठ ११ गते । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट निर्माणका क्रममा आयोजना बैङ्कको पूर्ण रुपमा कार्यान्वयन गरिने बताउनुभएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।आर्थिक वर्ष २०८३-०८४ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्दै उहाँले आर्थिक अनुशासन कायम गर्ने, अनुत्पादक र फजुल खर्चलाई निरुत्साहित गरिने बताउनुभयो । सीमित साधन स्रोतको उच्चतम प्रयोग गर्दै उत्पादन, उत्पादकत्व र रोजगारीमा वृद्धिमा प्रदेश सरकार केन्दिृत रहने भन्दै उहाँले भन्नुभयो, चालु आवको सुरुवातीमा नै भएको जेनजी आन्दोलन, प्रतिनिधि सभाको निर्वाचन, जनशक्ति अभाव, मध्यपूर्वमा भएको अशान्तिका कारण पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि लगायतका कारण पुँजीगत खर्चमा उल्लेखनीय सुधार आउन सकेको छैन ।

उहाँले टुक्रा र पहुँचका आधारमा बजेट बनाउने प्रणालीमा सुधार गरी योजनालाई प्रभावकारी बनाउन आयोजना बैङ्कको पूर्ण कार्यान्वय गर्ने भन्दै सङ्घीय शासन प्रणालीको अभ्याससँगै प्रदेश सरकारले हासिल गरेका उपलब्धिहरुलाई संस्थागत र विकासलाई अझ तीव्र गति, गुणस्तरीय र परिणाममुखी र प्रविधिमा आधारित बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, जेनजी विद्रोहका क्रममा भएको प्रदेश सरकारका संचरनाहरुलाई पुनर्निर्माण गरी सेवा प्रवाह सुचारु गरिएको छ । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेश सभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।




