नारायणगढ, जेठ १६ गते । ‘साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्धन’ भन्ने नारासहित दोस्रो बागमती साहित्य महोत्सव शनिबारदेखि नारायणगढमा सुरु भएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सुरु भएको महोत्सव विभिन्न सत्रमा छलफल, बहस र अन्तरक्रियासहित आइतबार सम्पन्न हुने छ। महोत्सवको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साहित्यको प्रवर्धन र संरक्षणमा प्रदेश सरकार निरन्तर लागि परेको बताउनुभयो।

उहाँले भन्नुभयो, “साहित्य, संस्कृति र परम्पराले नै देशको पहिचान जोगाएको छ। यसको संरक्षण र प्रवर्धन गर्नु हामी सबैको दायित्व हो।” मुख्यमन्त्री बानियाँले जीवनका सङ्घर्ष र अनुभवबाट नै उत्कृष्ट साहित्य सिर्जना हुने धारणा व्यक्त गर्नुभयो।

प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले साहित्य र पर्यटनबिचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “लाखे नाच, थारू समुदायको लाठी नाचलगायत सांस्कृतिक सम्पदालाई साहित्यको माध्यमबाट प्रवर्धन गरी पर्यटन विकासमा टेवा पुर्याउन आवश्यक छ।”

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझीले नेपाल प्रकृति र संस्कृतिको मौलिक पहिचान बोकेको देश भएको उल्लेख गर्दै कला र साहित्य राष्ट्रको आत्मा भएकाले यसको संरक्षण अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले हराउँदै गएका सांस्कृतिक मूल्य र परम्पराको संरक्षणमा साहित्यको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।

उहाँले भन्नुभयो, “संस्कृति र साहित्यले नै समाजलाई दिशानिर्देश गर्न सक्छ। भौतिक संरचनाको विकास मात्र विकासको सूचक होइन।” महोत्सवमा साहित्यका विभिन्न विधासम्बन्धी छलफल, बहस तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। यसअघि बागमती प्रदेशस्तरीय साहित्यिक भेला धादिङमा आयोजना गरिएको थियो।




