काठमाडौँ, जेठ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जाने हुनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नुहुने रास्वपाले जनाएको छ ।

पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने जनाइएको छ । भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेटघाट गर्नुहुने छ । साथै अयोध्याको भ्रमणका समेत कार्यक्रम रहेको जनाइएको छ ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनुहुने छ । रास्वपाका प्रवक्ता मनीष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ । रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबिचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।




