खासकुरा संवाददाता
हेटौँडा, जेठ १८ गते । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल भारत सीमासम्बन्धमा दिनुभएको अभिव्यक्तिको बागमती प्रदेशसभा बैठकमा विरोध भएको छ । सोमबार बसेको बागमती प्रदेशसभा बैठकमा प्रधानमन्त्री बालेनको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भँन्ने भनाइ आपत्तिजनक र राष्ट्रघाती, भन्दै प्रदेश सभाका सदस्यहरुले प्रदेशसभाको बैठकबाट प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।

प्रदेश सभाका सदस्यहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै प्रधानमन्त्रीले माफी माग्नुपर्ने र संघीय संसद्को रेकर्डबाट उक्त भनाइ हटाउनुपर्ने मागसमेत गरेका थिए।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको भन्दै बागमती प्रदेश सभाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति विरुद्ध खेद प्रस्ताव पारित गर्नुपर्ने बताउनुभयो ।
नेकपा बागमती प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेलले राष्ट्रियता जस्तो संवेदनशील विषय भएको भन्दै ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्री शाहको भनाइ तथ्यहीन र राष्ट्रिय स्वार्थविपरीत रहेको बताउनुभयो ।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रतिनिधिसभाको रोष्टमबाट नेपालले भारतको भूमि मिचेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहले राजीनामा दिनु पर्ने माग गर्नुभयो ।
प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउनुभयो ।




