काठमाडौँ, जेठ २२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक रूपमा विभाजित भएको छ । पार्टीका महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरीसहित १८३ जना नेताले बिहीबार पार्टी छाडेको घोषणा गर्नुभएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आत्मकेन्द्रित, हीन भावमा ग्रसित हुन थालेपछि सँगै बस्न नसकेको विज्ञप्तिमा उल्लेख छ । “पार्टीको वैचारिक आधार र मान्यता लत्याउँदै एकता महाधिवेशनको म्यान्डेट नजरअन्दाज गर्दै केन्द्रीय कार्यसमितिलाई जानकारी नगराई पार्टीको मूल नेतृत्व सङ्घीय गणतन्त्र सुदृढीकरण गर्न प्रचण्ड नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बन्यो,” विज्ञप्तिमा भनिएको छ । राणाले बृहत् छलफल गरेर नयाँ पार्टी बनाउने घोषणा पनि गर्नुभएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाउन धेरै प्रयास गरे पनि नसकिएको स्वीकार गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेखेर पार्टी विभाजनको औचित्य पुष्टि गर्नसमेत चेतावनी दिनुभएको छ ।




