मकवानपुर, जेठ २४ गते । मकवानपुरको दुर्गम र आर्थिक रूपमा पछाडि परेको राक्सिराङ गाउँपालिकाका २ हजार ५ सयभन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। जर्मन संस्था लिसा हिमालयन ईभीको आर्थिक सहयोग तथा दिगो विकासका लागि एकता नेपाल को व्यवस्थापनमा सञ्चालित ‘शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन सहयोग परियोजना’ अन्तर्गत पोशाक वितरण गरिएको हो।

परियोजनाले गाउँपालिकाको वडा नं. ६, ७ र ८ अन्तर्गत रहेका १६ वटा सामुदायिक विद्यालय, विद्यालयमा सञ्चालित १६ वटा प्रारम्भिक बाल विकास केन्द्र (ईसीडी) तथा ६ वटा समुदायमा आधारित ईसीडीमा अध्ययनरत बालबालिकालाई सहयोग उपलब्ध गराएको छ। विद्यार्थीहरूलाई विद्यालय पोशाकसँगै झोला र चप्पलसमेत वितरण गरिएको परियोजना व्यवस्थापक अनिल पौडेलले जानकारी दिनुभयो। विगत १५ वर्षदेखि यस क्षेत्रमा सक्रिय संस्थाले हाल पाँच वर्षे एकीकृत परियोजना सञ्चालन गरिरहेको छ। पहिलो वर्ष २ हजार ४४८ विद्यार्थीलाई सहयोग गरिएकोमा यस वर्ष सहयोगको दायरा विस्तार गरी २५ सयभन्दा बढी विद्यार्थीलाई समेटिएको छ।

नेपालकै गरिबीको उच्च दर भएका क्षेत्रमध्ये एक मानिने राक्सिराङमा करिब ५२ प्रतिशत चेपाङ समुदायको बसोबास छ भने बाँकी तामाङ र दलित समुदायका परिवारहरू रहेका छन्। यहाँका अधिकांश परिवारले वर्षभर खेतीपाती गर्दा पनि छ महिनाभन्दा बढी खान पुग्ने अवस्था छैन।




