चितवन, जेठ २५ गते । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यतिबेला गर्मी विदाको छुट्टी छ । विद्यार्थी आ(आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी विदाको गृहकार्य गर्दैछन, अध्ययन गर्दै छन् । स्कुलका शिक्षकहरु भने विदामा बसेका विद्यार्थीहरुको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधि, गृहकार्य, आचरण व्यवहार, अध्ययनको वातावतरणलगायतका विषयमा जानकारी लिईरहेका छन् ।
अत्याधिक गर्मी बढेसँगै दैनिक पठनपाठन संचालन गर्न कठिनाई भएर विद्यालयले गर्मी बिदा दिएको छ । शनिबार र आईतबारको छुट्टि समेत गरी गर्मी विदामा विद्यार्थीहरु नौ दिन घरमानै बस्नुपर्ने भएकाले शिक्षकहरुलाई विद्यार्थीहरुको घरघरमै पठाएर अध्ययन एवम् गृहकार्यमा सहजीकरण गर्ने गरी शिक्षकलाई परिचालन गरेको हो ।
कक्षा एक देखि दससम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई विदाको समयमा समेत अध्ययन गतिविधिमा संलग्न गराई राख्न स्कुलले विद्यार्थीहरुलाई विभिन्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यवहारिक अभ्यासलगायतका कार्यमा सक्रिय रहन विदाको गृहकार्य दिएको छ ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अध्ययनको अवस्था, विद्यार्थीका अभिभावकले विद्यालयसंग गर्ने गरेको गुनासो, विद्यार्थीको पढाई प्रतिको अभिरुचीलगायतका विषयलाई आधार मानेर विद्यार्थीहरुको समुह विभाजनसहित शिक्षक कर्मचारीहरुलाई होम भिजिटमा परिचालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।

विद्यार्थीको दैनिक पठनपाठन, शिक्षण सिकाईको अवस्थाको बारेमा अभिभावकसंग घरमै बसेर अन्तर्क्रिया गर्दा विद्यार्थीलाई अध्ययनको महत्वका साथै घरमा बसेर के कसरी अध्ययन गर्ने, विद्यार्थीलाई अभिभावकले अध्ययन एवम गृहकार्यमा के कसरी सहजीकरण गर्ने सम्बन्धमा प्रर्याप्त जानकारी दिन सकिने भएकाले शिक्षक शिक्षीका विद्यार्थीको घर घरमै पुगेका हुन ।
नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत विभिन्न विषयमा ज्ञान, सिप, कलामा प्रशिक्षण गर्दै आईरहेको समादेशक थापाले जानकारी दिनुभयो ।




