भीमफेदीमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

लोकप्रिय

हेटौँडा, जेठ २८ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको हो।

सवारी दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्व हवल्दार र यादव फास्ट ट्र्याक आयोजनामा कार्यरत इन्जिनियर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा बिहीबार बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। बुधबार राति करिब १०ः५० बजे माण्डु हाइड्रोपावरतर्फबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त गाडी काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण कार्यमा प्रयोग हुँदै आएको थियो।

दुर्घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको काठमाडौँ–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो। टोलीले गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो। मृतक दुवै जनाको शव हेटौँडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles