काठमाडौँ, जेठ २८ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासनको एजेण्डा लिएर अघि बढेको वर्तमान सरकारले दुई महिनामै जनतालाई धोका नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री डा वाग्लेले आफूले दुई रुपैयाँमा पनि बदमासी वा बेइमानी गरेको भए मन्त्री र सार्वजनिक जिम्मेवारी नै त्यागिदिने बताउनुभयो । करको दर हेरफेरमा अनियमितता भएको भनी भइरहेको प्रचारप्रसार गलत भएको उहाँको भनाइ थियो ।

बजार स्वनिर्मित र स्वनियन्त्रित नहुने भएकाले राज्यले नै नियमन गर्नुपर्ने मन्त्री डा वाग्लेले बताउनुभयो । बजेट आम्दानी आर्जन गर्ने अवस्थामा लैजाने सोचमा सरकार लागेको उहाँको भनाइ छ । “रोजगारी सृजना गरी स्थायी आम्दानीको माध्यम बनाउने सोच बजेटले राखेको छ, विगत २० वर्षमा गरिबी विप्रेषणका कारण घटेको हो, अब रोजगारीका माध्यमबाट आय गर्ने गरी बजेटले वातावरण बनाउन लागेको छ”, मन्त्री डा वाग्लेले भन्नुभयो ।




