काठमाडौँ, असार १० गते । चन्द्रागिरी नगरपालिका वडा ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीको आधुनिक चिकित्सा उपचारमा संलग्न रहेकी चेतन एएम (पौडेल) पक्राउ परेकी छिन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोही ठाउँकी वर्ष ४७ की पौडेललाई पक्राउ गरेको हो । नियमित अनुगमनका क्रममा निजले नपाएको चिकित्सकको उपाधिको प्रयोग गर्नुका साथै बिरामीलाई औषधि सिफारिस गरिएको ‘प्रेस्क्रिप्सन’ फेला परेपछि नेपाल मेडिकल काउन्सिलको कारबाहीका लागि ब्यूरोलाई अनुरोध गरेको थियो ।

प्रारम्भिक अनुसन्धानपश्चात काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई उनलाई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो । निजमाथि मुलुकी अपराध संहिता, २०७४ को इलाजसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।




