मकवानपुर, असार १६ गते । स्थानीय प्रशासनले दुई दिन रातिको समयमा कान्ति लोकपथ भएर यात्रा नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मङ्गलबार बेलुका ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म र असार १७ गते बेलुकी ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म कान्ति लोकपथको हेटौँडा–काठमाडौँ सडकखण्डमा यात्रा नगर्न आग्रह गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा मङ्गलबार जारी सूचनामा कान्ति लोकपथको हेटौँडा–काठमाडौँ सडकखण्डमा मङ्गलबार राति र बुधवार राति कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन अनुरोध गरिएको छ । यसैबिच मकवानपुरको बकैया गाउँपालिका–१२, ठिङ्गनस्थित कान्ति लोकपथ सडकखण्डमा सडकमाथिबाट ढुङ्गासहित पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको सडक पहिरो पन्छाएर सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरो पन्छाएर सडक सुचारु गरिए पनि सो क्षेत्रमा सिमसिम पानी परिरहेकाले कति बेला सडक अवरुद्ध हुने हो यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले नै भारी वर्षाको जोखिमका कारण दुई दिन रातिको समयमा उक्त सडकमा सवारी साधन आवागमनमा रोक लगाएको जानकारी दिनुभयो । प्रजिअ अधिकारीले वर्षाजन्य विपद्का सन्दर्भमा आवश्यक सतर्कता अपनाउन भन्दै असार १६ र १७ गते अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नगराउन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेको जनाएको छ । उक्त अवस्थालाई मध्यनजर गर्दै सम्भावित विपद्जन्य जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि यस्तो आग्रह गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

साथै ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्नेलगायतका जोखिमयुक्त गतिविधि नगर्न तथा नगराउन र पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न र विशेष सतर्कता अपनाउन सूचनामा भनिएको छ । वर्षाको अवस्था र जोखिमको परिस्थिति समेतको मूल्याङ्कनका आधारमा जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीद्वारा निश्चित समयका लागि आवागमन रोक्न सकिने सूचनामा उल्लेख छ ।




