कर्मचारीका लागि एआई तालिम

लोकप्रिय

हेटौँडा, असार १६ गते । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्मचारीका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई थप आधुनिक, छिटो र परिणाममुखी बनाउने उद्देश्यले आयोजित तालिममा प्रदेश मन्त्रालयका ४४ जना कर्मचारी सहभागी भएका छन् ।

तालिम समापन कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव कृष्णबहादुर शाहीले अबको कर्मचारीतन्त्र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रविधिको ज्ञान नहुँदा कर्मचारी पछाडि पर्न सक्ने उल्लेख गर्दै कृत्रिम बौद्धिकताको प्रयोग अहिलेको आवश्यकता भएको बताउनुभयो ।

“अबको कर्मचारीतन्त्र प्रविधिमैत्री हुनुपर्छ । प्रविधि नजानेर पछि पर्नु हुँदैन,” सचिव शाहीले भन्नुभयो । उहाँले देशभर कृत्रिम बौद्धिकताको प्रयोग विस्तार भइरहेका बेला सरकारले एआईसम्बन्धी नीतिगत तयारी अघि बढाइसकेको उल्लेख गर्दै त्यसलाई विषयगत र क्षेत्रगत आवश्यकता अनुसार कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीहरूको समेत रहेको बताउनुभयो ।

उहाँले सरकारद्वारा ल्याइएका प्रारम्भिक कानुनी तथा नीतिगत व्यवस्थालाई व्यवहारमा उतार्न सम्बन्धित निकायका कर्मचारीहरू प्रविधिमा दक्ष हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । दुई दिनसम्म सञ्चालन भएको तालिममा कृत्रिम बौद्धिकता (एआई)को आधारभूत अवधारणा, सरकारी कार्यालयमा एआईको सुरक्षित तथा जिम्मेवार प्रयोग, सेवा प्रवाहमा एआईको उपयोग, दस्तावेज तयारी, अनुसन्धान, तथ्य विश्लेषण तथा उत्पादकत्व अभिवृद्धिसम्बन्धी विषय समेटिएका थिए ।

तालिममा एआई विज्ञ अजय शर्मा र शिव पुरीले सहजीकरण गर्नुभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले कर्मचारीहरूको व्यावसायिक दक्षता बढाउनुका साथै प्रविधिमैत्री प्रशासन निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

ताजा समाचार

Related Articles