बागमतीलाई ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा

लोकप्रिय

हेटौँडा, असार २६ गते । लामो प्रयासपछि बागमती प्रदेशलाई ‘सडक आश्रित सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश’ घोषणा गरिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशलाई ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गर्नुभएको हो ।
घोषणासँगै सामाजिक विकासमन्त्री कन्चनचन्द्र बादे, नेपाल नगरपालिका सङ्घ बागमती प्रदेशका तर्फबाट धुनिवेसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य, गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर थापा, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले घोषणा कार्यान्वयनप्रति प्रतिबद्धता जनाउँदै सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
मुख्यमन्त्री बानियाँले विद्रोहलाई सदविचारमा बदल्ने र परिणत गर्ने महाअभियानको रुपमा मानव सेवाको सुरुवात गरेको र अहिले सार्थकता पाएको बताउनुभयो ।
सकारात्मक सोचबाटै समाज परिवर्तन सम्भव छ उहाँले भन्नुभयो, मानवताबादी सोच भयो भने विद्रोहलाई व्यवस्थापन गर्न सकिन्छ र यसले समाजलाई अगाडि बढाउँछ ।
प्रदेश सरकारले मानवताको क्षेत्रमा काम गर्ने संस्थालाई सरकारले सहयोग गर्दै आएको उहाँको भनाई छ ।
सामाजिक विकासमन्त्री कन्चनचन्द्र बादेले सरकारले सुरु गरेको मानवताको कार्यक्रमलाई निरन्तरता दिने भन्दै आश्रयविहीनहरुका लागि सहयोग र संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउनुभयो ।
बागमती प्रदेश सभाका सदस्य हरि सापकोटाले घोषणासँगै यसको दिगोपना आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशका अध्यक्ष अध्यक्ष कर्ण बहादुर थापा, धुनिवेसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, सामाजिक विकास मन्त्रालयका सचव खुविराम अधिकारी, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, गायिका आनी छोइङ डोल्मालगायतले घोषणासँगै कार्यान्वयन र दिगोपना चुनौतीपूर्णभएको बताउनुभयो । ।
कार्यक्रममा मानव सेवा आश्रममा बागमती प्रदेशका विभिन्न सेवा केन्द्रमा हाल सडक आश्रित सहयोगापेक्षी ९१२ जना आश्रित रहेको जानकारी गराइएको थियो ।

ताजा समाचार

Related Articles