मकवानपुर, असार २८ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटको ६८.५८ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आवका लागि विनियोजित कुल बजेट ६७ अर्ब ४७ करोड ८३ लाख २७ हजार रुपियाँमध्ये यही असार २५ गतेसम्ममा ४६ अर्ब २७ करोड ७७ लाख १९ हजार ९२९ रुपियाँ खर्च गरेको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाले सार्वजनिक गरेको प्रदेश सरकारको चालु आवको असार २५ गतेसम्मको प्रारम्भिक आयविवरण अनुसार कूल विनियोजित बजेटमा चालुतर्फ ६८.३३ प्रतिशत र पुँजीगततर्फ ६८.७४ प्रतिशत खर्च भएको देखिन्छ ।

चालु आवमा पुँजीगततर्फ ४१ अर्ब ६६ करोड ४७ लाख ३६ हजार ९०८ रुपियाँ विनियोजन भएकोमा २८ अर्ब ६४ करोड दुई लाख ८७ हजार ६६६ रुपियाँ र चालुतर्फ विनियोजन भएको २५ अर्ब ८१ करोड ३५ लाख ९० हजार ९२ रुपियाँमध्ये १७ अर्ब ६३ करोड ७४ लाख ३२ हजार २६२ रुपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । प्रदेश लेखा नियन्त्रक उपाध्यायले हाल प्राप्त भएको आयव्ययको प्रारम्भिक विवरण मात्र भएको भन्दै आर्थिक वर्षको अन्त्यसम्ममा आयव्यय बढ्नसक्ने बताउनुभयो ।

प्रदेशको मुख्यमन्त्री कार्यालयसहित १४ मन्त्रालय, निकाय र कार्यालयमध्ये प्रतिशतका आधारमा चालु आवमा सबैभन्दा बढी खर्च गर्नेमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, मुख्य न्यायधिवक्ताको कार्यालय र वन तथा वातावरण नियन्त्रण मन्त्रालय रहेका छन् । यी मन्त्रालयहरु र कार्यालयले ८० प्रतिशतभन्दा बढी खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।




