काठमाडौँ, असार ३१ गते । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले १ सय ६६ वटा विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसद्मा दर्ता गर्ने कानुनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसद्मा पठाइसकेको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी कानुन मन्त्री गौतमले आर्थिक वर्ष २०८३/०८४ का लागि सङ्घीय संसद्मा पेस गरिने ९७ वटा नयाँ र ६९ वटा संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी गराउनुभयो ।

उहाँले प्रचलित कानुनको सुधार तथा थप नयाँ कानुन निर्माणलाई प्रभावकारी रुपमा अगाडी बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनुपर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानुन निर्माण तथा सुधारमा वर्षका रुपमा घोषणा गरेको बताउनुभयो ।

मन्त्री गौतमले प्रचलित कानुनहरूको सुधार तथा पुनारावलोकनका लागि उच्चस्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी भइरहेको जानकारी बैठकमा गराउनुभयो ।




