भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

लोकप्रिय

नयाँ दिल्ली, साउन ५ गते ।  । भारतले डेङ्गु नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ । जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो तापक्रमका कारण डेङ्गुको जोखिम बढिरहेका बेला यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

भारतको केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठन (सीडीएससीओ) ले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्याङ्कनपछि स्वीकृति प्रदान गरेको हो । मन्त्रालयका अनुसार उक्त खोप चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेङ्गु रोगको रोकथामका लागि प्रयोग गरिनेछ । ‘क्युडेङ्गा’ खोप दुई मात्रा (डोज) मा दिइनेछ । यसमा दोस्रो मात्रा पहिलो खोप लगाएको तीन महिनापछि लगाइने व्यवस्था छ । टाकेडाले भारतमा खोपको उत्पादन र आपूर्ति विस्तार गर्न भारतीय कम्पनी बायोलोजिकल ईसँग सहकार्य गरिरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त खोपले डेङ्गु भाइरसका सबै चार प्रकार (सेरोटाइप) विरुद्ध सुरक्षा प्रदान गर्छ । यो खोप युरोपेली सङ्घ (इयु), बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसियासहित ४२ देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ । साथै यसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को पूर्वयोग्यता (प्रि–क्वालिफिकेसन) पनि प्राप्त गरेको छ ।

हालसम्म विश्वभर दुई करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेको र यसको प्रयोगका क्रममा कुनै गम्भीर सुरक्षा समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

Related Articles