मकवानपुर, साउन ५ गते । बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा (एमाले) सरकारबाट बाहिरिने भएको छ। एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा पेस गर्ने तयारी गरेका छन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया र पार्टी केन्द्रको निर्देशानुसार मन्त्रीहरूले राजीनामा बुझाउन लागेका हुन्। मन्त्री किरण थापाका अनुसार पहिले काठमाडौँमै राजीनामा दिने तयारी भए पनि मुख्यमन्त्री हेटौँडा जाने भएकाले हेटौँडामै राजीनामा पत्र बुझाइने छ।

हाल बागमती सरकारमा एमालेका छ जना मन्त्री हुनुहुन्छ। जसमा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा रहनुभएको छ।

यस्तै, बिनाविभागीयबाट विषयगत जिम्मेवारी पाउनुभएका मन्त्रीहरू जयराम थापा, किरण थापामगर र भरतबहादुर केसी हुनुहुन्छ। प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठ कायम गर्ने गरी नयाँ ‘सङ्गठन तथा व्यवस्थापन संरचना’ अनुसार कार्यविभाजन टुङ्गो लगाउने जनाएको छ।




