काठमाडौँ, साउन ५ गते । भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरकार माग पूरा नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको छ । नयाँदिल्लीमा सोमबार भएको विशाल प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा १७८ जना घाइते भएपछि आन्दोलन थप चर्किएको हो ।

सीजेपीले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई निरन्तर अघि बढाइने जनाएको छ । आन्दोलनका प्रमुख आशुतोष रङ्काले शिक्षामन्त्री प्रधानलाई पदबाट हटाउनुपर्ने माग दोहो¥याउँदै सरकार मौन बसेसम्म आन्दोलन जारी रहने बताउनुभयो । मङ्गलबार पनि सयौँ प्रदर्शनकारी राजधानीको जन्तर–मन्तर क्षेत्रमा धर्नामा बसेका छन् । उनीहरूले शिक्षामन्त्रीको राजीनामासँगै परीक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने माग राखिरहेका छन् ।

सोमबार हजारौँ प्रदर्शनकारी संसद्तर्फ मार्च गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । दिल्ली प्रहरीले प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा १७८ जना घाइते भएको जनाएको छ । तीमध्ये वरिष्ठ अधिकारीहरूसहित ११८ जना प्रहरी कर्मचारी पनि छन् । प्रहरीले प्रदर्शनकारीको भीडलाई ‘अनियन्त्रित, आक्रामक र हिंसात्मक’ भएको आरोप लगाएको छ ।




