लहान, साउन ७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताउनुभएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बिपी स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकको पछिल्लो परिस्थितिअनुसार नयाँ चिन्तन र सोचलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीमा भित्र र बाहिर सरकारका निर्वाचनमा मात्र बढी केन्द्रित हुने प्रवृत्ति बढेको उल्लेख गर्दै सभापति थापाले बिपीको आदर्श र त्यागबाट सिकेर निर्वाचन तथा राजनीतिसँगै परोपकार सेवा र कल्याणका कामका जोडिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “रिलबाट निस्केर रियल लाइफमा हेर्नुस्, अनिमात्र सर्वसाधारण जनताका आवाज सुनिनेछन् । दुःखमा काँग्रेसले साथ दिन्छ भन्ने सन्देश दिने गरी काममा लाग्नुस् ।”

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बिपीका आदर्श, विचार र संस्कारलाई आत्मसाथ गर्न सबैलाई आजका दिनमा आफ्ना क्षेत्रमा शिक्षक बन्ने सङ्कल्प बन्ने प्रण गर्न आग्रह गर्नुभयो । अर्का उपसभापति पुष्पा भुसालले विशेष महाधिवेशनले पार्टी विधानलाई नयाँ ढङ्गले अघि बढाएको उल्लेख गर्दै विधानमा भएको राजनीतिक निर्वाचन ब्यूरो संयन्त्रले निर्वाचनका बेला देखिने समस्या समाधान गर्ने, समावेशी बनाउन थप सहयोग गर्ने र सबैको अपनत्व जगाउने बताउनुभयो ।

महामन्त्री प्रदीप पौडेलले जनताका समस्या काँग्रेसले आफ्नो एजेण्डाका रूपमा प्रस्तुत गर्ने वाचा गर्दै सिर्जनात्मक ढङ्गबाट पार्टीलाई अघि बढाउन खोजेको उल्लेख गर्नुभयो । अर्का पार्टी महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि युगको आवश्यकताअनुसार नेतृत्व पुस्तान्तरण भएको र सबै निर्वाचन क्षेत्रमा पक्षपात नगरी निष्पक्ष रूपमा टिकट वितरण गरिएको जानकारी दिनुभयो । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिपीका विचार र आदर्शलाई सबैले आफ्नो चिन्तन र व्यवहारमा उतारेर अघि बढ्नुपर्ने बताउनुभयो ।




