पाँच लाख घुससहित कर अधिकृत पक्राउ

लोकप्रिय

लहान, साउन ७ गते । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले रंगेहात पक्राउ गरेको छ। सिरहा सुपर मार्केट प्रालिको २०७८/७९ को पूर्ण कर परीक्षण गर्ने क्रममा अधिकृत पालले आफूभन्दा माथिका अधिकारीलाई समेत सहमत गराउनुपर्ने भन्दै पाँच लाख रुपैयाँ माग गर्दै आएका थिए। घुस रकम प्राप्त भएपछि मात्रै कर परीक्षणको कागजात अगाडि बढाइने भन्दै उनले दबाब दिइरहेका थिए।

कर परीक्षण (अडिट) का क्रममा कार्यालयले कर जरिवाना तथा अन्य शीर्षकमा करिब दुई करोड रुपैयाँसम्म दायित्व पर्न सक्ने जनाएको थियो। कम्पनीले थप कागजात पेस गर्दै जाँदा दोस्रो चरणमा थप ३० देखि ३५ लाख रुपैयाँसम्म कर दायित्व बढ्न सक्ने अधिकृत पालले बताएका थिए। सबै कागजात मिलाइदिने बाहनामा उनले सुरुमा १२ लाख रुपैयाँ मागेका थिए। कम्पनीका सञ्चालकले आर्थिक अवस्था कमजोर रहेको बताएपछि पाँच लाख रुपैयाँमा सहमति भएको थियो। सोहीअनुसार बिहीबार पाँच लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासबाट खटिएको टोलीले कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको हो।

बिहीबार दिउँसो १२ बजे पक्राउ गरिएका कर अधिकृतसँग थप विवरण लिन र आवश्यक कागजात तयार गर्न अख्तियारको टोलीलाई पाँच घण्टा लागेको थियो।

आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख अमित पौडेलले पाँच लाख रुपैयाँ घुस मागिएको बारे आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सिरहा सुपर मार्केट कम्पनीले लगभग एक लाख मात्रै कर तिर्नुपर्नेमा कसरी घुस लिने प्रयास गरियो, मलाई थाहा थिएन। आज अख्तियारको टोलीले रंगेहात पक्राउ गरेपछि म पनि आश्चर्यचकित भएको छु।”

ताजा समाचार

Related Articles