हेटौँडा, साउन ८ गते । बागमती प्रदेश सरकारले नागरिकका गुनासाको तत्काल संवोधन गर्न हेलो सिएमको सुरुवात गरेको छ ।
बिहीबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुभारम्भ गर्नुभएको हेलो सिएम डेस्कमा पहिलो गुनासो हेटौँडा उपमहानगरपालिका २ मा अवस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जाने सडकको दुरावस्थाको बारेमा आएको छ ।
हेटौँडा उपमहानगरपालिकाको कार्यालयसँगैको मुख्यमन्त्री कार्यालयसहितका चार वटा मन्त्रालय जाने उक्त अड्डामार्ग पुनर्निर्माणका क्रममा महिनौ दिनदेखि अलपत्र रहेको छ ।
उक्त मार्गमा बागमती प्रदेश सभा हल, नापी कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, सरकारी वकिलको कार्यालय, जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय मकवानपुर रहेका छन् ।
त्यतिमात्र होइन प्रदेशभरको भौतिक पूर्वाधारको जिम्मेवारी पाएको भौतिक पूर्वाधार विकास मन्त्रालय अगाडिको उक्त मार्ग भएर प्रदेशका प्रमुख सचिवको निवास र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय उक्त मार्ग छन् ।
उक्त गुनासो सुनेसँगै तत्कालै मुख्यमन्त्री बानियाँले गुनासोको सुनुवाई र संवोधनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिनुभएको थियो ।
उक्त मार्गमा मुख्यमन्त्री कार्यालयसँगै सबैभन्दा बढी जनसम्पर्क हुने कार्यालय जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत छ सडक हिड्नै नसक्ने अवस्थामा भन्दै हेलो सिएममा गुनासो गरिएको थियो ।
मुख्यमन्त्री कार्यालय आउने सडक दुरावस्थामा छ, आउन जान समस्या भयो नागरिकको गुनासो छ तत्काल काम थाल्न आवश्यक प्रक्रिया अगाडि बढाउनुस् भन्दै मुख्यमन्त्री बानियाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।
‘हेलो सिएम’ सुरुवातसँगै अब जनताका गुनासा मुख्यमन्त्रीसम्म सिधै पुग्ने, तत्काल सुनुवाइ र अनुगमन हुने व्यवस्था गरिएको मुख्यमन्त्री बानियाँले भन्नुभयो, यो प्रदेश सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी बनाउने अभियानको सुरुवात हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका गुनासो सुन्ने अधिकारी असिम घिसिङ लामाले ‘हेलो सिएम’ मा प्राप्त हुने गुनासाहरूको प्रकृति अनुसार सम्बन्धित मन्त्रालय, विभाग वा निकायमा तत्काल पठाइने जानकारी दिनुभयो ।
उहाँले प्राप्त उजुरीहरूको समाधान प्रक्रिया नियमित रूपमा अनुगमन गरिने कार्यान्वयनमा आवश्यक समन्वय र सहजीकरणसमेत गरिने व्यवस्था गरिएको भन्दै मुख्यमन्त्री कार्यालयसँग सम्बन्धित विषयहरू यसै कार्यालयबाट सिधै सम्बोधन गरिने बताउनुभयो ।
गुनासो टोल फ्रि नम्बर १६६०५७५२८९८, व्हाट्सएप ९८५५०८९४५६ वा मुख्यमन्त्री कार्यालयको ईमेलमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।




