खासकुरा संवाददाता
हेटौँडा, साउन ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले बहुमत पु¥याए आएमा सरकार छाड्न बिलम्ब नगर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाँले अन्य दलले बहुमत जुटाएर आएमा सरकार छाड्न ढिलाई नगर्ने बताउनुभएको हो ।
उहाँले प्रदेश सभामा सबैभन्दा ठुलो दल कांग्रेस रहेको र अन्य दलले बहुमत जुटाइनसकेको अवस्थामा ठुलो दल र ठुलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री आफूनै रहने बताउँदै अन्य दलले बहुमत जुटाएमा तत्काल पद छाड्ने बताउनुभयो ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै दलले आफूसँग बहुमत रहेको दावी गरेको अवस्थामा मैले तत्काल मार्ग प्रशस्त गर्ने छु मुख्यमन्त्री बानियाँले भन्नुभयो, दावी गरेर आउनु प¥यो दुई वा दुई भन्दा बढी दलले हामीसँग बहुमतका लागि गणपुरक सङ्ख्या छ भनेर, सरकार छाड्न आनाकानी हुँदैन ।
उहाँले भन्नुभयो, बहुमत छ भनेर दावी गरेर आएको अवस्थामा मार्ग प्रशस्त गर्नु राजनीतिक संस्कार पनि हो र त्यो काम आफूबाट हुन्छ, म अडिएर, अड्किएर बस्ने मान्छे होइन ।
उहाँले अर्को दावी नभएसम्म र नआएसम्म संविधानमा भएको व्यवस्था अनुसार सरकारमा रहने भन्दै विकास निर्माणलगायतका जनताको कामलाई निरन्तरता दिने बताउनुभयो ।
एमालेले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।




