प्रदेश सभा बैठकमा भाषासम्बन्धी विधेयक पेस

लोकप्रिय

हेटौँडा, असोज १४ गते । 

बागमती प्रदेश सभामा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ । प्रदेश सभाको आइतबार बसेको बैठकमा संस्कृति, पर्यटन र सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको हो । 

विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल सुरु भएको छ । विधेयकमाथि छलफलमा भाग लिँदै प्रदेश सभाका सदस्यहरूले विधेयक सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण पक्ष भएको धारणा राख्नुभयो ।  

प्रदेश सभाका सदस्यहरू वसन्तप्रसाद मानन्धर, सुरेन्द्रराज गोसाईं, सिर्जना सायजु, मधुसूदन पौडेल, ठुला थापी र रमा आले मगर विधेयकमाथि आ–आफ्नो धारणा राख्दै सरकारले सबै भाषाको समान रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रदेश सभाका सदस्यहरूले  विधेयकमाथिको सामान्य छलफलमा उठाउनुभएको प्रश्नहरूको जवाफ दिँदै संस्कृति, पर्यटन र सहकारीमन्त्री महर्जनले प्रदेशमा बोलीचालीमा रहेका अन्य भाषाको बारेमा अध्ययन गरेर संरक्षण गरिने प्रतिबद्धता जनाउनुभयो । 

यसैबिच बागमती प्रदेश सभा बागमती प्रदेश सभामा प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाको सुन काण्डमा संलग्नता बारेमा प्रश्न उठेपछि उहाँले आइतबारको बैठकमा स्पष्टीकरण दिनुभएको छ । 

प्रदेश सभाको बैठक पटक–पटक विपक्षीबाट र सार्वजनिक रूपमा मन्त्री लामाको सुन काण्डमा संलग्न बारेमा प्रश्न उठेपछि मन्त्री लामाले प्रदेश सभाको आइतबारको बैठकमा सुन काण्मडमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिनुभएको हो । प्रमाणका आधारमा दोषी ठहरिएमा कानुनी सजाय भोग्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।  

यस्तै प्रदेश सरकार हराएको भन्दै प्रदेश सभाका आवाज उठेपछि प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह तामाङ सरकार नहराएको भन्दै स्पष्टीकरण दिनुभएको छ । उहाँले सरकार विपत् व्यवस्थापन लागेको र सरकार गाडी नकिनेको बताउँदै संविधान अनुसार नै प्रदेशको मन्त्रालय बढाइएको बताउनुभयो । प्रदेश सभाको अर्को बैठक सोमबार दिउँसो २ बजे बस्नेगरी स्थगित गरिएको छ । 

ताजा समाचार

Related Articles