कांग्रेसद्वारा तीन दिन शोक मनाउने निर्णय

लोकप्रिय

काठमाडौँ, साउन १३ गते । नेपाली कांग्रेसले वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा ७९ वर्षीय श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार (साउन १२ गते) निधन भएको उल्लेख छ। उहाँ नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति हुनुहुन्थ्यो। उहाँ १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एकसमेत हुनुहुन्थ्यो।

कांग्रेस केन्द्रीय कार्यसमितिले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गरेको छ। श्रेष्ठको १३औँ दिनको पुण्यतिथिमा गृह जिल्ला स्याङ्जाको कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ।

ताजा समाचार

Related Articles