सर्लाही, साउन १३ गते। सर्लाहीमा स्थानीय प्रशासनले डिजे बाजा बजाउन प्रतिबन्ध लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले मङ्गलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यक्तिगत कुनै पनि कार्यक्रममा डिजे बाजा प्रयोग गर्न निषेध गरिएको जानकारी दिनुभएको हो।

डिजे बाजा बजाउने विषयमा बढ्दो विवाद र सुनसरीमा उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लामा पनि डिजे बाजाको प्रयोगमा रोक लगाइएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार जिल्लाको कुनै पनि स्थानमा डिजे बाजा बजाएको पाइएमा सुरक्षाकर्मीले त्यस्ता उपकरण नियन्त्रणमा लिई आयोजक तथा सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्नेछन्।

यसअघि पनि सर्लाहीमा डिजे बाजा नियन्त्रणका लागि पटक–पटक निर्णय र आदेश जारी भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको स्थानीयको भनाइ छ। केही स्थानमा तनाव सिर्जना भएपछि प्रशासनले कडाइ गरे पनि त्यसपछि सदरमुकाम मलङ्गवासहित मुख्य बजार क्षेत्रमा अझै पनि चर्को आवाजमा डिजे बजाउने गरिएको स्थानीयवासीले गुनासो गरेका छन्। 




