प्रतिस्पर्धामा नगए उद्यम टिक्दैन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १३ गते । प्रतिस्पर्धामा नगए कुनै पनि उद्यम नटिक्ने भन्दै खुला अर्थतन्त्रको नीति अनुसार प्रतिस्पर्धामा जान सुझाइएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ मा रहेको मनहरी काष्ठ सःमिल तथा फर्निचर उद्योग र मकवानपुरगढी गाउँपालिका वडा नं. ५ स्थित बुङ्दलमा सञ्चालित बुङ्दल सामुदायिक महिला बेसार उद्योगको मंगलबार स्थलगत अनुगमन तथा छलफलका यस्तो बताइएको हो ।
नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालय, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन तथा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको सहकार्यमा सञ्चालित वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत फर्निचर उद्योग र बेसार उद्योगको स्थलगत अनुगमनका क्रममा बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बरालले व्यवसाय योजना बनाएर सहुलियतको संयन्त्रसहित सेवा प्रदान गरेमा सःमिलले दिगोपना हासिल गर्ने बताउनुभयो ।
मनहरी गापा ९ को ज्यामिरेमा करिब सात कट्ठा जग्गा भाडामा लिएर फर्निचर उद्योग सञ्चालन हुँदै आएको छ ।
वन निर्देशनालय बागमतीका निर्देशक विद्यानाथ झाले कम्पनी ढाँचामा लगेर दर्ता गरी पुँजी घोषणासहित खुला बजार प्रतिस्पर्धामा नलगी यस्ता उद्यम टिक्न कठिन हुने बताउनुभयो ।
मन्त्रालयको महाशाखा प्रमुख अजय विक्रम मानन्धरले लाभांश बाँडफाँड संयन्त्र बनाएर सरोकारवालाहरूसँग समन्वय गर्दै अगाडि बढेमा समुदायमा आधारित उद्यम सफल हुनसक्ने बताउनुभयो ।
डिभिजन वन कार्यालय, राप्ती, मनहरीका डिभिजनल वन अधिकृत हेमबहादुर थापा, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी, फर्निचर उद्योग व्यवस्थापन समितिका अध्यक्ष हेमलाल उप्रेती, सामुदायिक वन उपभोक्ता महासंघका कर्मचारी सन्ध्या सिवाकोटी, पशुपति सामुदायिक वन समुहका अध्यक्ष रघुनाथ रूम्वाले छलफलमा बोल्नुभएको थियो ।
पशुपति वन समुह मनहरी–७ का कोषाध्यक्ष शान्तामाया राईले वनबाट उत्पादित काठको प्रवर्धर्दन भएको भन्दै खुशी प्रकट गर्नुभयो ।
यसैगरी बुङ्दल सामुदायिक वन समुहका महिलाहरूबाट सञ्चालित सामुदायिक बेसार उद्योगको अनुगमनका समुहका उपाध्यक्ष राधिका छत्कुलीले गाउँमा बालीनाली बाँदरले सखाप पारेकोले नगदे बाली पनि भएको र बाँदरले नोक्सान पनि नगर्ने हुँदा सामूहिक बेसार खेतीबाट राहत मिलेको बताउनुभयो ।
समूहका सल्लाहकार बलराम अधिकारीले हाल १० रोपनी क्षेत्रफलमा परीक्षणको क्रममा सञ्चालित बेसार खेती गरी बिक्री गर्दै आएको बताउनुभयो ।
सो अवसरमा बुङ्दल सामुदायिक महिला आयआर्जन समूहका अध्यक्ष बिन्दा लामिछाने गौतमले उद्योगले गर्दा महिला सशक्तीकरणमा सहयोग पुगेको बताउनुभयो ।
अनुगमनमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि रक्षा शाह, फेकोफनका केन्द्रीय सदस्य रामहरि चौलागाईँ, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौँलागाई, वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत गणेश थापा, डिभिजन वन कार्यालय राप्तीका वन अधिकृत डटेन्द्र गोलेलगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

Related Articles