मन्त्रीपरिषद् बैठक निर्णय: विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने

लोकप्रिय

काठमाडौँ, साउन १३ गते । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नौ वटा विधेयक स्वीकृत गर्दै महत्त्वपूर्ण पाँच निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको मन्त्रीपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्नुभएको हो ।  बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ।

यसैगरी राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, बालश्रम (निषेध र नियमित गर्ने) सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयकसमेत संसद्‌मा पेस गर्न स्वीकृति दिइएको छ।

बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्बन्धी निर्णय गर्नुका साथै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गरिएको छ। यसका साथै मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ।

ताजा समाचार

Related Articles