सुनसरी, साउन १४ गते । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा गत आइतबार राति भएको हिंसात्मक घटनाका क्रममा गोली लागेर गम्भीर घाइते भएका अर्का एक युवकको पनि उपचारकै क्रममा मृत्यु भएको छ। यससँगै देवानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। देवानगन्ज–३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेका बेला बिहीबार दिउँसो १:२४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

जयप्रकाशको पेटमा गोली लागेको थियो र घटनादेखि नै उनको अवस्था गम्भीर रहेको बताइएको थियो। यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका ओमप्रकाश मेहताको उपचारकै क्रममा मृत्यु भएको थियो। गत साउन ११ गते राति बोलबम यात्राका क्रममा चर्को आवाजमा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो।

सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। झडपका क्रममा ढुंगामुढा भएपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो, जसमा सर्वसाधारण र सुरक्षाकर्मी दुवै पक्षका व्यक्तिहरू घाइते भएका थिए। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो भने गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

जिल्लामा सर्वदलीय तथा सर्वपक्षीय छलफलमार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। जयप्रकाश मेहताको मृत्युपछि पीडित परिवारले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिनुपर्ने माग दोहोर्याएका छन्। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सुनसरीको देवानगंज, हरिनगर, कोशी गाउँपालिका तथा इनरवा, र दुहवी नगरपालिकामा कर्फ्यु जारी छ।




