काठमाडौँ, साउन १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका तथा सिरहालगायतका स्थानमा भएका हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संयमता, सामाजिक सद्भाव र संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षसँग अपिल गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज जारी गर्नुभएको अपिलमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा केही दिनयता उत्पन्न तनावपूर्ण परिस्थितिमा स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहाका गणेश यादवको गोली लागि निधन भएको र अन्य नागरिक घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले विभिन्न स्थानमा थप नागरिकले ज्यान गुमाएको घटनाले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । अध्यक्ष ओलीले नागरिकबीचको एकता, सहिष्णुता र भ्रातृत्वलाई राष्ट्रको मुख्य शक्ति उल्लेख गर्दै कुनै पनि प्रकारको भ्रामक प्रचार वा उत्तेजनात्मक गतिविधिको पछि नलाग्न सबैसँग आग्रह गर्नुभएको छ । उहाँले एमालेका नेता–कार्यकर्ता, अन्य राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमता अपनाई सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।




