हेटौँडा, साउन १४ गते । नेपाली कांग्रेसले बागमती प्रदेशमा कांग्रेसको सरकारलाई निरन्तरता दिन पहल गर्ने भएको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको बिहीबार काठमाडौँमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बागमती प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरूसँग वर्तमान सरकारलाई समर्थनका लागि गर्न पहल गर्ने निर्णयसहित यसको जिम्मेवारी कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई दिने निर्णय गरेको छ ।
कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता प्रदान गर्न बागमती प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरूसँग लिखित पत्राचार तथा मौखिक समन्वय गरी समर्थन प्राप्त गर्न पहल गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रदेश सभा सदस्य श्रीराम लामिछानेले जानकारी दिनुभयो ।
बागमती प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
यस्तै कांग्रेस संसदीय दलको बैठकले सुनसरी जिल्लाको देवानगञ्ज, कप्तानगञ्जमा भएको घटना र त्यसपश्चात् देशका विभिन्न भागमा उत्पन्न तनावपूर्ण परिस्थितिप्रति दुःख व्यक्त गरेको छ ।
कप्तानगञ्जमा भएको घटना ज्यान गुमाउनुभएकाहरू प्रति श्रद्धाञ्जली र मृतकका परिवार प्रति बैठकले समवेदना व्यक्त गरेको छ ।
कांग्रेस संसदीय दलले थप हिंसा र क्षति हुन नदिन तथा धार्मिक, सामाजिक सद्भाव कायम राख्न धैर्य, संयम हुँदै संवादमार्फत समस्या समाधानमा केन्द्रित हुन सबैमा अपिल गर्दै परिस्थितिलाई थप बिग्रन नदिई धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सङ्घीय सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्न बागमती प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
साथै कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री ७९ वर्षीय गोपालमान श्रेष्ठको उपचारका क्रममा भएको निधनले मर्माहत र स्तब्ध बनाएको कांग्रेस संसदीय दलले जनाएको छ ।
बैठकले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।




