सुनसरी घटनाको न्यायिक छानबिन गर्न माग

लोकप्रिय

काठमाडौँ, साउन १९ गते । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरु उठ्नुभएपछि बोल्न दिइएको समयमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

उहाँले सो घटनाका बारेमा सामाजिक सञ्जालमा अफबाह फैलाउने पक्षलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुनसरी घटनापछि फैलिएको अराजक गतिविधि सबैको प्रयासपछि साम्य भएकामा खुसी व्यक्त गर्दै यस किसिमका घटना पुनः दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष  छानबिन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सुनसरी घटनापछि अहिले मुलुकका औद्योगिक घराना आतङ्कित भएको उल्लेख गर्दै दिगो शान्ति र सुव्यवस्था कायम गर्न दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाली कम्युनिष्ट पाटी (नेकपा) सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबैले मिलेर नियन्त्रणमा ल्याउन गरेको प्रयास निकै सर्‍हानीय भएको भन्दै उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले केही समयअघि जनकपुर मन्दिर क्षेत्रमा आफ्नो पार्टीका नेता कार्यकर्तामाथि कुटपिट भएको जानकारी गराउँदै त्यस घटनामा संलग्न दोषीमाथि के कस्तो कारबाही भएको छ, सो विषयमा जानकारी गराइयोस् भन्नुभयो । सांसद राईले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आगामी दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

Related Articles