उपभोक्ता बजार नियमन र अनुगमनको माग

लोकप्रिय

काठमाडौँ, असोज २१ गते । 

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

उपभोक्ता बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरूले बोल्नुभएको हो । 

त्यस्तै, प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेका नेपालीको उद्धार र स्वास्थ्योउपचारमा पनि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइएको छ । 

सांसद बिजुला रायमाझीले आम उपभोक्ताले चर्को महँगी, कालोबजारी र गुणस्तरहीन वस्तुको समस्या भोग्नु परेको, यातायात सुविधा सहज हुन नसकेको, सडक छेउका होटलमा अखाद्य सामग्री बिक्री वितरण भइरहेको बताउनुभयो।

सांसद विनीता कुमारी सिंहले खाद्यजन्य वस्तुमा प्रयोग हुने हानिकारक विषादी भइरहेको बताउनुभयो । सांसद शान्ति विकले चरम मूल्यवृद्धि जनताले धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । आर्थिक मन्दीका कारण बजार माग घटेको तर मूल्यवृद्धि भएको उहाँको भनाइ छ । त्यस्तै, अहिले किसानले दूधको मूल्य नपाएको पनि उहाँले संसद्मा उठाउनुभयो ।

सांसद शान्ति श्रेष्ठले दसैँ, तिहारलगायत चाडबाडमा घर जानका लागि महँगो सवारी टिकट काट्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गर्नुभयो ।  

सांसद सीता मिजारले बजारमा कृत्रिम अभाव, कालोबजारी, एकाधिकार, सवारी टिकट अभावको समस्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना लामाले देशका दुर्गम स्थानमा खाद्य आपूर्ति सहज बनाउन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद सूर्यमान तामाङ दोङले चाडपर्वका बेला नागरिक झन् सास्तीमा परेको बताउनुभयो । ठेकेदारको कमजोरीले देशका विभिन्न स्थानमा सडक अलपत्र परको र निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पाउन नसकेको विषय पनि उहाँले संसद्मा उठाउनुभयो । 

सांसद शिशिर खनालले इजरायलमा भएको आक्रमण र त्यहाँ रहेको नेपालीको अवस्थाको विषय उठाउनुहुँदै तत्काल अवस्थाको यकिन जानकारी लिनुपर्ने र उद्धार थाल्नुपर्ने बताउनुभयो । सांसद हितराज पाण्डेलले पनि इजरायलमा भइरहेको युद्धमा परी घाइते भएका नेपालीको उद्धारमा राज्यले गम्भीरता देखाउनुपर्ने बताउनुभयो ।

सांसद ज्ञानबहादुर शाहीले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्नका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताउनुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले पनि इजरायलमा रहेका नेपालीको उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना जैसवालले मिटरब्याज पीडितको समस्या अझै समाधान नभएको विषय संसद्मा उठाउनुभयो ।

सांसद शेरबहादुर कुँवरले गत मङ्गलबार बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टरस्केलको भूकम्पबाट पीडित परिवारलाई राहत तथा पुनः स्थापनाको काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद शोभा ज्ञवालीले संसद्को प्रभावकारिता देखिन नसकेको बताउनुभयो ।

सांसद सराज अहमत फारुकीले नेपालको जनशक्ति बिदेसिने क्रम बढेको बताउनुहुँदै स्वदेशमै रोजगारीको सिर्जना गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद शङ्कर भण्डारीले आर्थिक सुशासनको विषय उठाउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी पर्ने गरेका कारण विकासको प्रक्रिया अस्तव्यस्त हुन पुगेको बताउनुभयो ।

जुनसुकै विषयमा बिना तथ्य बेनामे उजुरी पर्दा समस्या देखिएको उहाँको भनाइ छ । सांसद सरिता भुसालले मदरसा शिक्षालाई राज्यको मूलधारमा ल्याउनुपर्ने बताउनुभयो ।

सांसद सुनिता बरालले नेपालमा आउने पर्यटकमध्ये धेरैजसो पोखरा घुम्न आउने गरेको र त्यहाँ जानका लागि सहज यातायात सुविधा नरहेको विषय उठाउनुभयो । त्यस्तै, हवाई टिकटको मूल्य बढेको विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सूर्यकुमारी श्रेष्ठले नेपालको जनशक्ति बिदेसिनुमा कृषि क्षेत्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको बताउनुभयो ।

सांसद सोनु मुर्मुले इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क बढाएको विषय संसद्मा उठाउनुभयो ।  सांसद हरि ढकालले भूमिहीन र सुकुम्वासीका समस्याका विषय संसद्मा उठाउनुभयो ।

सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार आवश्यक रहेको विषय संसद्मा उठाउनुभयो । सांसद विद्या भट्टराईले वीर अस्पतालका दुई सय ३० जना डाक्टरलाई हटाउने निर्णय फिर्ता लिन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो ।

ताजा समाचार

Related Articles