जाजरकोट–जुम्ला सुरुङमार्ग 

लोकप्रिय

सुर्खेत, असोज २२ गते । 

जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको योजना अघि बढ्न सकेको छैन । आयोजनाको ‘प्रि–फिजिबिलिटी’ अध्ययनमै अलमल देखिएको छ ।

विसं. २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रूकुमपश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइलसमेत खडा गरेको थियो ।

त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । देखिनेगरी आयोजनाकाे काम अघि बढेन । पुनः विसं. २०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्रि–फिजिबिलिटी अध्ययनको काम थालियो ।

प्राविधिक टोलीले फिल्डमै गएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गर्ने भनिए पनि फिल्डमा पुगेर अध्ययन भएको छैन । सडक डिभिजन चौरजहारी रूकुम पश्चिमका सूचना अधिकारी सुरेशकुमार बस्यालले सुरुङमार्गको अध्ययनमै अलमल भइरहेको बताउनुभयो ।

पाँच महिनामा अध्ययनको काम सम्पन्न गरेर अन्य काम अघि बढाउनुपर्ने भए पनि काम हुन नसकेको उहाँको भनाइ छ । बस्यालले भन्नुभयो, ‘‘सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त छ–छैन भनेर प्रि–फिजिबिलिटी अध्ययनको काम थालिएको हो । फिल्डमा काम हुन सकेको छैन ।’’ यसअघि पनि सामान्य पूर्व अध्ययनका काम भएको उहाँले जानकारी दिनुभयो ।

सडक विभागले गत जेठमा इटीको–टि.एम.एस–रेज जेभीसँग सुरुङमार्ग प्रि–फिजिबिलिटी अध्ययन सम्झौता गरेको थियो । सोहीअनुसार अध्ययन हुनुपर्नेमा अलमल भइरहेको छ । सडकको अवरोधका कारण आवश्यक प्राविधिकको टोलीद्वारा फिल्डमा काम गर्न नसकिएको टएमएस रेज जेभीका प्रमुख राजीव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच महिनामा काम सम्पन्न गर्नुपर्नेमा ढिलाइ भइरहेको छ । कच्ची सडक र विभिन्न अवरोधका कारण स्थलगत काम गर्न नसकिएको उहाँको भनाइ छ । झाले भन्नुभयोे, ‘‘हालसम्म फिल्डको काम भइसक्नुपर्ने थियो । अध्ययनका लागि उपकरण लिने बाटो नहुँदा काम गर्न सकिएको छैन ।’’

अध्ययनका लागि तयार पारिने कागजी काम भने तयार भएका छन् । ‘‘आधा काम प्राविधिकको टोलिले फिल्डमा र आधा काम कार्यालयमै गर्नुपर्ने हुन्छ,’’ झाले भन्नुभयो, ‘‘अहिलेसम्म कार्यालयमा बसेर कागजी काम मात्र भएका छन् । तत्काल फिल्डमा पुगेर काम गर्न सकिने अवस्था छैन ।’’ अध्ययनका लागि पटक–पटक जान खोजिए पनि आधा बाटोबाटै फर्कन परिरहेको उहाँले बताउनुभयो ।

साँघुरो बाटो, ठाउँ–ठाउँमा पहिरो जाँदा स्थलगत रूपमा अध्ययनको काम गर्न नसकिएको उहाँले जानकारी दिनुभएको छ । सडकको अवरोधका कारण आवश्यक उपकरणसहित सम्बन्धित ठाउँमा अध्ययनका लागि जान नसकिएको जनाइएको छ । दशैँपछि बाटोको अवरोध खुल्ने बित्तिकै फिल्डमा पुगेर अध्ययनको काम अघि बढाउने योजना रहेको झाले बताउनुभयो । एक चरण फिल्डमा पुगेर रिपोर्ट तयार गरिएको र उपकरणसहित पुनः जानुपर्ने भएकाले बाटोका कारण काम रोकिएको उहाँको भनाइ छ ।

प्राविधिकको टोलीले सुरुङ मार्गका लागि टनेल निर्माण, माटोको परीक्षण, लागत अनुमानलगायतको अध्ययन गर्नेछ । सम्झौता अनुसार यहि असोजमा अध्ययनको काम सक्नुपर्ने हो । तर अहिलेसम्म फिल्ड अध्ययनको काम हुन सकेको छैन । 

ताजा समाचार

Related Articles