अर्थतन्त्र लयमा फर्काउन काम गरिरहेको छौँ

लोकप्रिय

धनगढी, असोज २९ गते ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हित, विकास–समृद्धि र अर्थतन्त्रलाई लयमा फर्काउने पक्षमा सरकारले काम गरिरहेको बताउनुभएको छ । उहाँले भ्रष्ट्राचार नियन्त्रणलाई प्राथमिकता दिएर सरकार अघि बढिरहेको बताउनुभयो ।

धनगढीमा आज समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले मोर्चालाई शक्तिशाली केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले चार दलीय मोर्चाले परिवर्तनको रक्षा गर्दै समाजवादी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने विश्वास रहेको बताउनुभयो ।

‘संघीय गणतन्त्रलाई उल्टाउने, देशमा अराजकता सृष्टि गर्ने, निरङ्कुश शासनतिर मुलुकलाई फर्काउने एउटा डिजाइन छ, त्यसैले हामी सबै गम्भीर बन्नुपर्छ’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनलाई भत्काउने प्रयास भइरहेको उल्लेख गर्नुहुँदै गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभयो । राजनैतिक तहमा दूरगामी परिवर्तन भए पनि प्रशासनिक क्षेत्रमा काम गर्ने शैली र सोच पुरानै रहेकाले कर्मचारीहरू थोरै जोखिम उठाउन तयार हुने नगरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताउनुभयो । उहाँले रोजगारी, सुशासन र समृद्धिलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल भइरहेको बताउनुभयो । उहाँले सङ्घीयतालाई समाप्त पारी मुलुकमा स्वेच्छाचारी शासनको प्रयासमा एकथरी लागिपरेकाले परिवर्तनकारी शक्तिहरू चनाखो हुनुपर्ने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक जटिल मोडमा पुगेकाले सम्पूर्ण एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई अग्रगामी निकास समाजवादी मोर्चाले दिने बताउनुभयो ।

सभा नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहको अध्यक्षतामा भएको थियो ।

ताजा समाचार

Related Articles