प्रसारण लाइन निर्माणमा सहयोग गर्न आग्रह

लोकप्रिय

काठमाडौँ, कात्तिक १२ गते । 

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन सहयोग गर्न नेपाल विद्युत् प्राधिकरणले सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको प्रसारण लाइनको लम्बाइ २८८ किलोमिटर छ । प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हेटौँडा–ढल्केबर खण्डतर्फ चार किलोमिटर र ढल्केबर–इनरुवा खण्डतर्फ ४० गरी ४४ किलोमिटर तार तानिएको छ । तार तान्न हाल ढल्केबर–इनरुवा खण्डतर्फ केन्द्रित गरिएको छ । 

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नु पर्छ । यसमध्ये ७५७ वटा टावरको जग हालिएको छ । ७५० वटा टावर खडा गरिएको छ । स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै जारी राखेको अवरोधका कारण बाँकी ३५ वटा टावरको काम नै सुरु हुन सकेको छैन । 

हेटौँडा उपमहानगरपालिकाका वडा १५, १६ तथा १७ स्थित हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब छ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४ वटा, हेटौंडा–११ स्थित थानाभ¥याङमा दुई वटा र जियाजोर क्षेत्रमा आठ वटा टावर निर्माणमा अवरोध छ । थानाभ¥याङमा सबस्टेसनमा लाइन छिराउन दुई वटा टावर निर्माण गर्नुपर्ने छ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुने छन् । 

प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले निर्माण प्रभावित भइरहेको छ । ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ को माघमा ठेक्का सम्झौता भएको थियो । 

ढल्केबर–इनरुवा खण्डमा अहिले तार तान्ने काम भइरहेको छ । यसका लागि पाँच वटा टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ । उक्त काम आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ । यस वर्षको हिउँदका केही महिना मोरङ–सुनसरी औद्योगिक कोरिडोरलगायत समग्र पूर्वको विद्युत् माग धान्नका लागि भारतबाट थप विद्युत् आयात र वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा नेपाल विद्युत् प्राधिकरण रहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले बिहीबार सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा भइरहेको तार तान्ने कामको अनुगमन गरेको छ । कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो भने ठुलो विपत् आउन सक्ने बताउनुभयो । “प्रसारण लाइन निर्माणमा ठाउँ ठाउँमा अवरोध छ, अहिले पाँच टोलीले तार तान्ने काम गरिरहेको छ, थप टोली थपेर कामलाई तीव्रता दिन स्थानीयको अवरोधले समस्या छ,” उहाँले भन्नुभयो, “खुलाउनका लागि भइरहेका प्रयास असफल बनिरहेका छन्, स्थानीय निकाय, प्रशासनलगायत सबैले सकारात्मक सहयोग गरेर प्रसारण लाइन निर्माण नगरे समग्र आपूर्ति प्रणाली खलबलिने र निर्यातमा समेत समस्या हुने छ ।” यो लाइन बनाउन नसके पूर्व क्षेत्रको विद्युत् माग धान्न थप आपूर्ति कठिन हुने र बचेको विद्युत् निर्यातमा पनि असहजता हुने उहाँको भनाइ छ । 

स्थानीय अवरोध खुलाई निर्माणका लागि प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन । प्रसारण लाइन मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर र सुनसरी गरी १० जिल्लामा पर्दछ । 

हेटौँडा–ढल्केबर–इनरुवा ४४० केभी प्रसारण लाइन विद्यमान १३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गधिकार क्षेत्र प्रसारण लाइनको केन्द्रबिन्दुबाट दायाँबायाँ २३/२३ मिटर हुने छ । आयोजनाले ५१८ हेक्टर वन क्षेत्रमा रहेका रुख काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिन अधिग्रहण गर्नुपर्ने छ । मार्गधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ वटा घर तथा अन्य संरचना प्रभावित हुने छन् । 

१७ करोड अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार, विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजना अन्तर्गत सुरु गरिएको हो । विश्व बैङ्कको ऋण बन्द भएपछि बाँकी काम नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ । 

ताजा समाचार

Related Articles