गठबन्धनका उम्मेदवार जिताउन समन्वय समिति गठन

लोकप्रिय

हेटौँडा, माघ २ गते ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता पक्षीय गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सत्ता गठबन्धनका दलहरुले आग्रह गर्दै प्रदेश निर्वाचन समन्वय समिति गठन गरेका छन् ।
राष्ट्रियसभा निर्वाचन केन्द्रीय निर्वाचन समन्वय समितिको बैठकको निर्णय अनुसार सत्ता गठबन्धनका दलहरुले बागमती प्रदेशमा बागमती प्रदेश निर्वाचन समन्वय समिति २०८० गठन गरी सत्ता गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका हुन् ।
तीनै दलका बागमती प्रदेशका सभापति र अध्यक्षहरु, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, नगरपालिका महासङ्घ नेपालका बागमती प्रदेश अध्यक्ष, गाउँपालिका महासङ्घ नेपालका बागमती प्रदेश अध्यक्ष, तीनै दलका प्रदेश पदाधिकारीहरु र गठवन्धनबाट राष्ट्रियसभा सदस्यका चारैजना उम्मेदवारको उपस्थितिमा भएको बैठकले यस्तो गरिएको हो ।
बैठक एकीकृत रुपमा चुनावी गतिविधि समन्वय गर्न कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका बामगती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र नेकपा एकिकृत समाजवादीका बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल रहेको समिति गठन गरेको छ ।
बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुसँग चुनावी समन्वय गर्न नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा बामगती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद खनाल रहेको समिति गठन गरिएको छ ।
बैठकले बागमती प्रदेशभित्रका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट विजयी प्रमुख र उपप्रमुखहरुसँग समन्वय गर्ने जिम्मा नगरपालिका महासङ्घ नेपाल, बागमती प्रदेशका अध्यक्ष उपेन्द्र कार्कीले प्रदान गरेको छ ।
यस्तै बागमती प्रदेशभित्रका गाउँपालिकामा सत्ता गठबन्धनको तर्फबाट विजयी अध्यक्ष र उपाध्यक्षहरुसँग समन्वय गर्न गाउँपालिका महासङ्घ नेपाल, बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर थापा मगरलाई जिम्मेवारी प्रदान गरिएको छ ।
बागमती प्रदेशका १३ वटै जिल्लामा तीन वटै पार्टीका अध्यक्ष र सभापतिहरुलाई राष्ट्रियसभा निर्वाचन जिल्ला निर्वाचन समन्वय समिति गठन गरी सोको जानकारी प्रदेश समन्वय समितिमा पठाउन आग्रह गर्ने बैठकले गरेको कांग्रेस, बागमती प्रदेशका मुख्य सचिव राजु नेपालले जानकारी दिनुभयो ।
यसैगरी यही माघ ६ गते शनिबार काठमाडौँमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु र मतदाताहरुबीच भेटघाटको कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

ताजा समाचार

Related Articles