बागमती प्रदेशको सबै नीतिमा स्वास्थ्य नीति

लोकप्रिय

हेटौँडा, फागुन १२ गते ।
बागमती प्रदेश सरकारले सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयनमा आउने भएको छ । सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयनमा ल्याउन निर्देशिका तयार गरी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको हो ।

स्वास्थ्यमन्त्री उत्तम जोशीले ‘सबै नीतिमा स्वास्थ्य नीति’ लाई अब प्रदेशको सबै मन्त्रालयका नीति निर्माणमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

मानव स्वास्थ्य र रोगमा स्वास्थ्य क्षेत्रका सामाजिक निर्धारकहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “मानव स्वास्थ्यलाई असर गर्न सक्ने स्वास्थ्यका सामाजिक निर्धारकहरूमा गैरस्वास्थ्य क्षेत्र र विषयहरूले प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने भएकाले यो नीति लिइएको हो ।” स्वास्थ्य क्षेत्र एक्लैको प्रयासबाट मात्र स्वास्थ्यका सामाजिक निर्धारकहरुलाई सम्बोधन गरी नागरिकलाई स्वस्थ राख्न र रोगमुक्त बनाउन कठिन भएकाले स्वास्थ्य सेवा प्रवाहमा बहुक्षेत्रीय तथा बहुपक्षीय समन्वय, सहकार्य, साझेदारी र सहभागितामा स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम, योजना, कार्यान्वयन र अनुगमन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारीका अनुसार निर्देशिका स्वीकृत भएसँगै काम अघि बढ्ने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले अघि सारेको यो योजना देशमै पहिलो पटक बागमती प्रदेशमा लागू गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “सबै क्षेत्रले स्वास्थ्यलाई केन्द्रमा राखेर नीति बनाउनुपर्छ भन्ने यो निर्देशिकाको मुख्य उद्देश्य हो”, निर्देशक तिवारीले भन्नुभयो,, “कृषि उत्पादन गर्दा पोषणमा ध्यान दिनुपर्छ । विषादी र रासायनिक वस्तु प्रयोग गर्नु हुँदैन । खानेपानीले स्वस्थ खानेपानी उपलब्ध गराउनु पर्छ । सडकका कारण दुर्घटना हुनु हुँदैन ।”

ताजा समाचार

Related Articles