हेटौँडा/केन्द्रीय मानन्धर संघले शनिबार हेटौंडामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौं महानगरपालिकाको लागत साझेदारी, संघको युवा र सञ्चार उपसमितिको संयोजन तथा हेटौंडाका मानन्धर गुठीहरुसँगको सहकार्यमा कार्यक्रम गरिएको हो । कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले जाति, भाषा र संस्कृति प्रदेशसँगै देशकै सम्पत्ति भएकाले संरक्षण र प्रबर्द्धनमा सबैपक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । नेपालको गौरबको रुपमा रहेको नेपाल भाषा, नेवार संस्कृतिसँगै नेपाल सम्बत महत्वपूर्ण रहेकाले दैनिक प्रयोगमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल सम्बतलाई सरकारी कामकाजमा प्रयोगमा ल्याईनु खुशीको कुरा हो, उहाले भन्नुभयो , राष्ट्रिय विभुती शंखधर साख्वाले चलाउनु भएको नेपालको मौलिक नेपाल सम्बत् भएकाले पूर्ण कार्यान्वयन गर्नु जरुरी छ । बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले प्रदेशमा नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाई सकेको भन्दै नेपाल भाषा, संस्कृति जगेर्ना गर्न सरकार, नेवार समुदाय र संघसंस्थाहरु एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा सदस्य शैलेन्द्रमान वज्राचार्यले संघीयताको बारेमा नकारात्मक धारणा फैलाईएको भन्दै राजनीतिक, भाषिक, साँस्कृतिक अधिकार पाउन संघीयताले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । कार्यक्रममा मौलिक धिमे बाजा, धाः बाजा, बाँसुरी, बे बाजा, नाय् खिं बाजा, ढोलक बाजाको प्रस्तुतीसँगै नेवारी पहिरनमा नेपाल भाषाका गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रम वीरगञ्ज र बारामा आयोजना गरिने नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव तथा केन्द्रीय मानन्धर संघका केन्द्रीय सदस्य केके मानन्धरले जानकारी दिनुभयो ।