अनुमगन प्रभावकारी नभएको गुनासो

लोकप्रिय

हेटौँडा, चैत ३ गते । स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवा उपभोग गर्न पाउनु पर्ने उपभोक्ताको अधिकार भएपनि पछिल्लो समय बजारमा बेथिति बढ्दै गएपनि बजार अनुगमन र नियमन गर्ने निकायले नियमित रुपमा बजार अनुगमन नगर्दा उपभोक्ता ठगिने क्रम नरोकिएको गुनासो गरिएको छ ।
बजार अनुगमन गर्ने जिम्मेवारी पाएको तीनै तहको निकाय चाडपर्व लक्षित बजार अनुगमनमा सीमित बन्दा सरकारले पाउने राजस्वबाट विमुखसँगै उपभोक्ताले मिसावट गरिएको र गुणस्तरहीन बस्तुको उपयोग गर्नुपर्ने बाध्यता र वास्तविक मूल्यभन्दा बढी मूल्य तिर्नुपर्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउनु आग्रह गरिएको छ ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बागमती प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनाल, हेटौँडा र उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले संयुक्त रुपमा शुक्रबार हेटौँडामा आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।
कार्यक्रममा उपभोक्ता अधिकारसम्बन्धी व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुती गर्दै उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका कार्यालय प्रमुख अमृतकुमार श्रेष्ठले निर्देशनालयमार्फत चालु आर्थिक वर्षको हालसम्ममा प्रदेशमा १४७ पटक अनुगमन गरी नियम विपरीत गर्नेहरुबाट २५ लाख रुपियाँ जरिवाना असुल गरिएको जानकारी दिनुभयो । उहाँले यसै अवधिमा मकवानपुरमा नौ पटक अनुगमन गरी उपभोक्ता हकहित विपरीत गर्नेहरुबाट तीन लाख रुपियाँ जरिवाना सङ्कलन गरिएको बताउनुभयो ।
बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीले उपभोक्ताको अधिकारलाई तीनै तहको सरकार मिलेर स्थापित गर्नुपर्ने बताउँदै उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनमा समसामयिक सुधार आवश्यक भएको बताउनुभयो ।
ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले उपभोक्ता हित संरक्षणसम्बन्धी कानुन स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले व्यावसायिक मर्यादाभित्र रहेर उद्योग व्यवसाय गरेमा अनुगमन गर्नुपर्ने अवस्था नै नआउने भन्दै अनुगमन गर्ने निकाय धेरै भएकोले अनुगमन प्रभावकारी बन्न सकेको छैन भन्नुभयो ।
ईन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्कीले सहरका ठूला पसल र डिपार्टमेण्टल स्टोरका म्याद सकिने अवस्थाका सामान गाउँमा बिक्रीका लागि पुग्ने गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासुप्रसाद खतिवडालगायतले अनुगमनलाई नियमति र प्रभावकारी बनाउनु सहयोग रहने बताउनुभयो ।

ताजा समाचार

Related Articles