फोहोरको स्रोतमै वर्गीकरण गरी व्यवस्थापन

लोकप्रिय

चितवन, चैत १२ गते ।
रत्ननगर र खैरहनी नगरपालिकामा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्रोतमै वर्गीकरण तथा प्रविधिको प्रयोग गरिएको छ । दुई पालिकामा फोहोर व्यवस्थापनको जिम्मा पाएको सफा ऊर्जा उत्पादन प्रालिले फोहोरको स्रोतमै वर्गीकरण तथा प्रविधिको प्रयोग गरेर शून्य फोहोरको अवधारण अघि सारेको हो ।

कुहिने फोहोरलाई जैविक मल, नकुहिने फोहोरबाट प्रयोगमा आउने सामग्री निर्माण र सिसाजन्य फोहोरबाट घर निर्माणमा प्रयोग गरिने ब्लक बनाउने काम सुरु गरिएको छ । सङ्कलन गरिएको फोहोर डम्पिङ गर्न नपर्ने गरी प्रविधिको प्रयोग गरिएको छ । फोहोर व्यवस्थापनलाई दीर्घकालीन बनाउन स्रोतमै फोहोरको वर्गीकरण गरेर सङ्कलनको काम शुरु गरिएको हो । कुहिने र नकुहिने फोहोरलाई फरक–फरक मितिमा सङ्कलन गरी त्यसलाई व्यवस्थापन गरिएको छ ।

रत्ननगरमा कुहिने पदार्थलाई मङ्गलवार र बिहीबार, नकुहिने फोहोरलाई हप्ताको सातै दिन र सिसा र कपडाजन्य फोहोर महिनाको तेस्रो हप्ता सङ्कलन गर्न सुरु गरिएको सफा ऊर्जा उत्पादन प्रालिका सामुदायिक स्रोत निर्देशक रवि भट्ट रोषीले जानकारी दिनुभयो ।

खैरहनीमा कुहिने फोहोर आइतबार र बुधबार, नकुहिने पदार्थलाई हप्ताको सातै दिन र सिसा र कपडाजन्य फोहोर महिनाको तेस्रो हप्ता बुधबार सिसा र बिहीबार कपडाजन्य फोहोर सङ्कलनको काम भइरहेको छ । स्रोतमा वर्गीकरण हुन नसकेको फोहोरलाई डम्पिङ साइटमा प्रविधिको प्रयोग गरी वर्गीकरण गर्ने गरिएको स्रोत निर्देशक भट्टले जानकारी दिनुभयो ।

कुहिने पदार्थबाट जैविक मल उत्पादनको लागि कच्चा पदार्थ तयार गरिएको छ । तयार गरिएको कच्चा पदार्थबाट खैरहनीको चैनपुरमा सञ्चालित उद्योगबाट जैविक मल उत्पादन गरी बजारमा पठाउन थालिएको उहाँले बताउनु भयो । सैलुन र ब्युटिपार्लरबाट निस्कने फोहोरबाट पनि तरल प्रकारको मल उत्पादन गर्ने तयारी गरिएको छ ।

सफा ऊर्जाले खेर गएका तरकारीजन्य पदार्थहरूबाट जैविक मल किसानहरुले फलफूल र तरकारी खेतीमा प्रयोग गर्न सुरु गरिसकेका छन् । सफा ऊर्जा उत्पादन प्रालिले पूर्वी चितवनको चारवटै पालिकालाई लक्षित गरी फोहोरको दिगो व्यवस्थापन र नगरलाई शून्य फोहोर बनाउने अवधारणाअनुरूप खैरहनीको चैनपुरमा ठूलो लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ । नकुहिने पदार्थबाट प्रयोगमा आउने अन्य सामग्री निर्माण गरी बजारमा पठाउने योजना कम्पनीको छ ।

सुर्ती, गुट्का तथा मल्टिलेयर प्लास्टिकमा सिसा मिक्स गरी घर निर्माणमा प्रयोग हुने ब्लक बनाउन सुरु गरिसकिएको स्रोत निर्देशक भट्टले जानकारी दिनुभयो । ‘सिमेन्ट प्रयोग गरेर बनाएको ब्लकभन्दा सुर्ती, गुड्का तथा मल्टिलेयर प्लास्टिकमा सिसा मिक्स गरेर बनाएको ब्लक कयौँ गुणा गुणस्तरीय हुन्छ’, उहाँले भन्नुभयो, ‘सफा ऊर्जाले नेपालमै पहिलोपटक यस्तो प्रकारको ब्लक उत्पादन गरेर बजारमा पठाएको छ ।’

अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि सफा ऊर्जाले निडल (सुर्ई), सर्जिकल ब्लेट, सैलुनमा प्रयोग गर्ने ब्लेट छुट्टै सङ्कलन गरी अटोक्लेभ प्रविधिमार्फत वैकल्पिक काममा प्रयोग हुने सामग्री तयार गर्ने योजना बनाएको छ । रत्ननगरमा दैनिक २५ टन र खैरहनीमा दैनिक १५ टन फोहोर उत्पादन हुँदै आएको छ ।

दुई पालिकाबाट कुहिने फोहोर ३० प्रतिशत, नकुहिने फोहोर ६५ प्रतिशत र सिसा तथा अस्पतालजन्य फोहोर ५ प्रतिशत उत्पादन हुँदै आएको सफा ऊर्जा उत्पादन प्रालिका निर्देशक निर्णय पौडेलले जानकारी दिनुभयो । सङ्कलन गरिएको फोहोरलाई डम्पिङ गर्न नपर्ने गरी प्रविधिको प्रयोग गरेर पुनः प्रयोगमा आउने सामग्री, जैविक मल, ब्लक निर्माण सुरु गरिएको उहाँको भनाइ छ ।

रत्ननगरका मेयर प्रलाद सापकोटाले सफा ऊर्जाले नगरको फोहोर सङ्कलन र व्यवस्थापनमा नागरिकको गुनासो नआउने गरी कार्यसम्पादन गरिरहेको बताउनुभयो ।

खैरहनीका मेयर शशिकुमार खनियाँले पालिकाहरूलाई फोहोर व्यवस्थापनमा चुनौती रहेका बेला फोहोर डम्पिङ नै गर्न नपर्ने गरी व्यवस्थापनको काम सुरु गर्नु दीर्घकालीन समस्याको समाधान भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles