मुख्यमन्त्री जम्कट्टेल सोमबार विश्वासको मत लिने

लोकप्रिय

हेटौँडा, चैत १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सोमबार दिउँसो १:०० बजे प्रदेश सभाको बैठक बस्नेगरी सभामुखले समय तोक्नुभएको जानकारी दिनुभयो । यसअघि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सोमबार लिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गत शुक्रबार पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो ।

यसैबिच प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सोमबार बस्ने प्रदेश सभाको बैठकको कार्य सूची तय गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । कार्यसूची अनुसार मुख्यमन्त्रीले बैठकमा मन्तव्यसहित विश्वासको मतको लागि प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल गरिने छ । प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिएपछि प्रस्ताव निर्णयार्थ पेस गरिने भएको छ ।

केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै नेपाली काँग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेपछि विश्वासको मत लिने तयारी गरिएको छ ।

गत फागुन २३ गते काँग्रेसका छ जना मन्त्रीले सरकारबाट सामुहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानको धारा १८८ को उपधारा (२) मा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

ताजा समाचार

Related Articles