लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लोकप्रिय

लुम्बिनी, चैत २५ गते ।
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ । उहाँ प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि आज शपथग्रहण गर्नुभएका महरा विसं २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ (१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।
नयाँ मन्त्रिपरिषदमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर मन्त्रीमा नियुक्त हुनुभएको छ ।

तीनै जना मन्त्रीलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ गराइएको हो। मुख्यमन्त्री महराले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रालय विस्तारसहित मन्त्रालयको टुङ्गो लाग्ने छ।
मुख्यमन्त्री महरा विसं २०६४ मा नेकपा (माओवादी) को तर्फबाट संविधानसभा सदस्य हुनुभएको थियो ।

विसं २०६२ देखि २०६५ र २०७२ देखि २०७८ सम्म दुई पटक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गर्नुभएका महरा विसं २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेर समेत काम गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य रहनुभएका महरा गत वर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।

ताजा समाचार

Related Articles