सामुदायिक वनमा कङ्काल फेला

लोकप्रिय

हेटौँडा, चैत २९ गते । मकवानपुर राक्सिराङ गाउँपालिका ३ स्थित गुफादेवी सामुदायिक वनमा मानिसको कङ्काल फेला परेको छ । राक्सिराङस्थित लावतीका माइला प्रजाको घरबाट करिब एक किमी उत्तरमा रहेको गुफादेवी सामुदायिक वनमा शवको कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो शव माइला प्रजाका २५ वर्षीय छोरा गोविन्द प्रजाको भएको आफन्तले कपडाका आधारमा पहिचान गरेका छन् । गोविन्द गत फागुन ९ गतेदेखि घरबाट हराएका थिए ।

वनमा कङ्काल अवस्थामा फेला परेको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ । उक्त कङ्काल कसको हो भन्ने डिएनए परीक्षणपछि मात्र यकिन हुने र घटना बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

यसैबिच हेटौँडा–भैँसे सडक अन्तर्गत हेटौँडा उपमहानगरपालिका १ तिरतिरे धारा सडक खण्डमा बुधबार भीमफेदीबाट हेटौँडातर्फ आउँदै गरेको प्र.३–०२–०१३ प ९७५६ न.को मोटरसाइकल दुर्घटना भएको छ ।

मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको सिमेन्टको खम्बामा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरूमा मोटरसाइकल चालक मकवानपुरको भीमफेदी गाउँपालिका ६ तारगाउँ २५ का जिनेस वाइबा र मोटरसाइकलको पछाडि बसेर सवार सोही स्थान २३ का अर्जुन स्याङतान रहेका छन् ।

प्रहरीका अनुसार दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको र उनीहरूको हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारको लागि चितवन पठाइएको छ ।

ताजा समाचार

Related Articles